एनआरएन अभियान: जन्मदेखि अहिलेसम्म

८ डिसेम्बर २०१३

जीवा लामिछाने

सन् २००३ सेप्टेम्बर १ का दिन रुस, अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, क्यानडा आदि देशका गैरआवासीय नेपाली प्रतिनिधिहरु भेला भएर लन्डनमा एउटा बैठक बस्यो र नेपालमा १ महिनापछि अर्थात् अक्टोबर ११ का दिन पहिलो विश्व सम्मलेन गर्ने निर्णय गर्यो! माओबादी द्वन्दको चरम उत्कर्षका ती दिनहरुमा सुरक्षा आदिका कारण सम्मेलन आयोजना गर्नु हुँदैन भन्ने तर्क नउठेको पनि होइन ! दशैँको बेला समेत पर्ने भएकोले त्यो समय बिदेशमा बस्ने धेरै नेपालीहरुलाई अनुकुल हुन् सक्ला भन्ने अनुमान गरेर सम्मेलन गर्ने निर्णय गरियो । त्यही निर्णय अनुरुप सन् २००३ अक्टोबर ११ का दिन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गैर आवासीय नेपालीहरुको पहिलो पटक विश्वसम्मेलन भयो। त्यो सम्मेलन तत्कालीन श्री ५ को सरकार र उद्योग बाणिज्य महासंघको सक्रियतामा सम्पन्न भएको थियो । उद्घाटन गर्न तत्कालीन राजा ज्ञानेन्द्र नै आए । यसरी विधिबत रुपमा गैर आवासीय नेपाली अभियान सुरु गरियो । म यो अभियानमा सुरुका दिन देखि नै सरिक हुँदै आएको हुँ !

झन्डै ३० लाख नेपालीहरु सार्क मुलुक बाहेक अन्य देशहरुमा बसोबास गरिरहेको अनुमानित तथ्यांक छ हामीसँग । रहर वा बाध्यताले अहिले बिदेशमा रहे पनि ती सबै आफ्नो माटोलाई माया गर्छन् र आफू सक्षम भएपछि देशमा केही गर्न चाहन्छन् । विशेष गरी आफू पढेको स्कुल, जन्मेको गाउँठाउँलाई सहयोग गर्न चाहन्छन् र गरिरहेका पनि छन् । गैरआवासीय नेपाली संघको पहिलो उद्देश्य संगठित रुपमा विदेशमा समेत आफ्नो हकहितका लागि आवाज उठाउनु र सुरक्षित गर्नु थियो । अर्को उद्देश्य नेपालीहरुसँग भएको सिप, क्षमता, पुँजी र मानव संशाधनलाई नेपालको समग्र विकासमा परिचालन गर्नु थियो । त्यसैअनुरुप हामीले संघको विधान बनायौं ।

संघको स्थापनाकाल देखि नै मैले संयोजक भई सामाजिक क्षेत्रको जिम्मेवारी लिंदै आएँ । फलस्वरुप संघको परोपकारी क्षेत्र हेर्ने ईकाईको तर्फबाट चितवनको देबघाटमा साठी जना बृद्ध- बृद्धा बस्न मिल्ने सुबिधा सम्पन्न बृद्धाश्रम बनाउने कार्यको मैले संयोजन गर्ने मौका पाएँ । ब्रिधाश्रम बनि सकेपछि देबघाटको गलेश्वर आश्रमलाई त्यो हस्तान्तरण गरियो ! त्यसपछि पनि यस संघको तर्फबाट अविछिन्न रुपमा मैले सामाजिक र परोपकारी कार्यलाई नै आफ्नो कार्य क्षेत्र बनाएँ ! सामाजिक  क्षेत्रमा काम गर्दाको सन्तुष्टि फरक र बृहत् हुँदो रहेछ भन्ने कुराको मैले महसुस गर्न थाले । गाउँको एउटा किसानको छोरो । म इन्जिनियर बन्न नेपाल सरकारको छात्रवृत्ति पाएर रुस गएको विद्यार्थी । जुनबेला म त्यहा पुगे सोभियत संघको अर्थव्यवस्था ध्वस्त प्राय: भै सकेको थियो । सन् १९९१ मा सोभियत संघको विधिबत बिघटन पछि रुसले राज्य नियन्त्रित अर्थब्यबस्थालाई त्याग्दै खुला बजार अर्थतन्त्रमा प्रवेश गर्यो ! त्यही समयमा बिश्वविद्यालयको मेरो औपचारिक अध्ययन पनि समाप्त भएकोले मैले त्यहाँ आफ्नो ब्यबसाय सुरु गरें । सुन्य प्राय: पुँजीबाट सुरु गरेको मेरो ब्यबसायले ५ बर्षमा राम्रै फड्को मार्यो । औपचारिक शिक्षा भन्दा पनि ब्यबहारिक ज्ञान, इमानदारी र आफूभित्रको इच्छाशक्ति ठुलो कुरा हुँदो रहेछ । मानिस पहिला आफू उभिन चाहँदो रहेछ ! त्यसपछि सामाजिक परिचय र समाजका लागि केही गर्छु भन्ने चाहना राख्दो रहेछ ! यही चाहनाले नै म गैरआवासीय नेपाली अभियान मा केही अग्रजहरु सँगसँगै लाग्न पुगें !

गैर आवासीय नेपाली अभियान सुरु भए पछि विदेशमा बस्ने नेपालीहरुमा उद्यमीपनको विकास बढी रहेको छ ! नेपालीहरुले पनि विदेशमा गएर आफ्नै उद्यम सञ्चालन गर्ने भएका छन् । किन अरुको कुक भएर काम गर्ने ? सानोतिनो भए पनि आफैले किन रेस्टुरेन्ट नचलाउने भन्ने प्रश्न आफैसँग गर्ने भएका छन् ।

सुरुका दिनहरुमा यो अभियानमा लाग्दा मैले कुनै दिन संघको नेतृत्व लिनेछु भन्ने बिषयमा सोचेकै थिइनँ ! तर काम गर्दै जाँदा, देश विदेश घुम्दै गर्दा मलाई धेरै साथीहरुले स्वभाविक नेतृत्व पंक्तिमा राखेर हेर्न थालेका रहेछन ! सन् २००९ मा म गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा निर्वाचित भएँ । साथीहरुले मलाई नेतृत्व तहमा आउनु पर्यो भनेर अझ बढी उत्सहित बनाए ! सन् २०११ मा अध्यक्ष पदमा उमेद्वारी दिएँ । सफल पनि भएँ र नेतृत्वमा आएँ ! दुई बर्षको मेरो यो यात्रा मेरा लागि निक्कै ज्ञानबर्धक, शिक्षाप्रद र उत्शाहजनक रह्यो ! यो अभियानमा आफुलाई समाहित गर्न पाउँदा मैले गौरबको महसुश गरेको छु ! नेतृत्वको अनुभव सार्थक रह्यो । भर्खर छैटौं अधिवेशनबाट नयाँ नेतृत्व आएको छ । यस अवस्थामा मलाई आफ्ना दुई वर्षको कार्यकाललाई हेर्न मन लाग्यो ।

अध्यक्ष पदमा उम्मेदवारी दिँदा आफुले २ बर्षमा गर्ने कामहरु बारे मैले केही प्रतिबद्धध्ता ब्यक्त गरेको थिएँ!

पहिलो थियो सामूहिक लगानीको कार्वान्वयन! हामीले सुरु देखि नै लगानी सम्बन्धी केही योजनाहरुको उद्घोष गरेका थियौं ! अलि बढी उत्साहित भएर बिनातयारी उद्घोष गरिएका ती प्रतिबद्ताहरु पुरा गर्नु हाम्रो कर्तब्य थियो! यस बिचमा सामूहिक लगानीको एउटा कम्पनी स्थापना भएको छ ! त्यो कम्पनीले लम्जुङको डोर्दी खोलाबाट २७ मेगावाटको बिजुली उत्पादन गर्ने पहिलो योजना अघि बढाएको छ! राष्ट्र निर्माणको कुरा गर्दा यो सानो परियोजना हो तर यसले गैर आवासीय नेपालीहरु बीच रहेको अपार लगानीको सम्भावनालाई उजागर गरिदिएको छ !

सामाजिक र परोपकारी क्षेत्रमा समेत यो कार्यकालमा सबै राष्ट्रिय समन्वय परिषदहरुबाट उल्लेखनीय आर्थिक योगदान जुटाउन हामी सफल भयौं ! यहि कार्यकालमा वैदेशिक रोजगारीमा जानेहरुका लागि सूचना प्रदान गर्ने एक वैदेशिक रोजगारी गाइडबुक प्रकाशन गरियो जसलाई नेपालका सबै गाविसहरुमा निशुल्क उपलब्ध गराइँदैछ ! नेपालको प्रबर्धन गर्ने उद्धेश्यले बिभिन्न देशहरुमा नेपाल हाउस निर्माणको काम सुरु भएको छ ! गैरआवासीय नेपाली संघ मार्फत नेपाली वांगमयको क्षेत्रमा पनि केही कामको सुरुवात होस् भन्ने उद्देश्यले पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा एउटा विद्वत संगोष्ठीको आयोजना गरियो ! दुई संस्थाबीच भएको यस सहकार्यले आगामी दिनमा नेपाली बांग्मयलाई विश्वव्यापिकरण गर्न सहयोग पुग्नेछ भन्ने मैले अनुमान गरेको छु !

सबैभन्दा उल्लेखनीय कुरा १० बर्षदेखि अपुरो रहेको गैर आवासीय नेपाली संघ विधिबत रुपमा नेपालमा दर्ता भएको छ, यद्यपि यसलाई दर्ता गराउन संघ भित्रैबाट निक्कै ठुलो अबरोध पार गर्नु परेको थियो! संस्था दर्ताका लागि सकारात्मक भूमिका निर्बाह गरि सहयोग गर्नु हुने वर्तमान परराष्ट्र मन्त्री र मन्त्रालयका प्रतिनिधिहरु प्रति म सधैं आभारी रहनेछु!

समाजमा एकथरी मानिसहरु जे गरे पनि नकरात्मक दृष्टिले हेर्ने खालका हुँदा रहेछन्। स्विट्जरल्यान्टको ज्युरिच सहरमा मिटिङ हुँदा दार्चुलालगायत केही जिल्लाका बाढीपीडितहरुलाई सहयोग गर्न आह्वान गरी केही रकम उठाइयो । मिटिङमा उपस्थित झन्डै दुई सय जति साथीहरुबाट साठी लाख रुपैयाँ नगद तथा सहयोगको प्रतिबद्धता प्राप्त भयो । यो रकम उठेको सुनेर केही मानिसहरुले कमेन्ट गरे— ‘एनआरएनएले उधारोमा सहयोग गर्यो ! पछि मैले प्रधानमन्त्री राहतकोषमा जानेगरी पचास लाख रुपियाँ हस्तान्तरण गरेँ । तिनै मानिसहरुले फेरि कमेन्ट गरे— ‘प्रधानमन्त्रीसँग नजिक हुन र फोटो खिचाउन यसो गरेको !’

तर यस्ता अभिव्यक्तिहरुले मलाई खासै फरक पारेन । किनभने यस्ता मानिसहरु संसारमा जति राम्रो कामलाई पनि नकारात्मक दृष्टिले हेर्ने गर्दा रहेछन । फेरी अर्को कुरा सार्वजनिक ब्यक्तित्वका रुपमा उभिनु परेपछी जस अपजस सबै कुरा सुन्नका लागि म तयार पनि थिएँ ! आफ्नो व्रह्मले सत्य देखेको कुरा गर्दै गएपछि विचलित भइँदो रहेनछ । अर्को कुरा विरोध गर्नेभन्दा सहयोग गर्ने हातहरु नै धेरै हुन्छन् । त्यसको बलले अझ बढी आत्मबल बढ्दो रहेछ ।

मानिसहरु भन्थे-‘एनआरएनहरु आउँछन्, ठूला होटलहरुमा ठूला सभासम्मेलन गर्छन्, ठूला कुरा गर्छन् अनि जान्छन् तर उनीहरुले केही काम गर्दैनन ।’ यो भनाइ पूरै गलत थिएन । हामी व्यक्ति व्यक्तिले उठाएको स-सानो रकमबाट तत्काल कुनै ठूलो परिवर्तन गर्न सक्ने अबस्थामा हामी थिएनौं ! कहिलेकाहीँ हामीले तयारी बिना अलि उत्ताउलो भएर केहि योजनाहरु घोषणा पनि गरेकै हौँ । त्यसैले नेपालीहरु जो विदेशमा बसेर आफ्नो देश र त्यहाँका जनतालाई गाली गर्छन्, उनीहरुलाई कार्यक्रमहरुमा मैले भन्ने गरेको छु _ ‘जुन माटोमा तपाईंहरु जन्मनुभयो, हुर्कनुभयो, जुन परिवार र समाजले तपाईंहरुलाई यो अवस्थामा पुर्यायो । त्यसको पहिले ऋण तिर्नोस् अनि गाली गर्नोस् ।’

हेर्दा हेर्दै संस्था ठूलो भयो । सबैतिरबाट मान्यता पाउन थाल्यो । यो संस्था पूर्णरुपमा स्वयमसेवी संस्था हो । यस्को काम त सबै स्वयंसेवा मात्र हो । तर केही मानिसहरु भने सामाजिक प्रतिष्ठाकालागि मात्र संगठनमा आउँछन् तर केही काम गर्दैनन् । केही मानिसहरु भने ठूलाठूला प्रपोजल र योजनाहरु लिएर आउँछन्,यसो गर्नु पर्यो, उसो गर्नु पर्यो भन्दै । त्यस्ता मानिसहरुलाई भन्ने गरेको छु — ‘यसलाई कार्यान्वयन गर्ने योजना पनि तपाईंहरुले नै लिएर आउनुहोस् ।’ त्यसो भने पछी प्रपोजल लिएर आउनेहरुको नाक-मुक देखिदैन !

यस अबधिमा राष्ट्रिय समन्वय परिषदहरुले आफ्नो २ बर्षको कार्यकालमा कम्तिमा एउटा सामाजिक वा परोपकारी योजना गर्नै पर्ने अभियानलाई हामीले व्यापक गरायौं । कमसेकम पैँसठ्ठी देशका संगठनले पैँसठ्ठी सानाठूला काम गर्न सके हामीले केही गरेको देखिने थियो ।’ यसै अनुरुप कामहरु हुँदै छन् । देशका बिभिन्न जिल्लाका स्थानीय निकायमा समेत हामीले भौतिक तथा मानबिय सहयोग गर्ने कार्यलाई निरन्तरता दियौं ! सबै भन्दा चुनौती र अबसरको बिषय औपचारिक कार्यक्रम हुँदो रहेछ ! अध्यक्षका नाताले नेपाल तथा बिदेशका सयौं कार्यक्रम हरुमा उपस्थित हुनुपर्ने बाध्यता पनि व्यस्तताको कारक बन्यो !

त्यस्तै हामीले संस्थाका तर्फबाट ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखेर हल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतको परिसरमा दुई फिट अग्लो बुद्धको मुर्ती स्थापना गर्यौं ! यो काम त्यति ठूलो नहोला तर भगवान बुद्दको जन्मभूमिका बिषयमा बिबाद भै रहेको अहिलेको सन्दर्भमा अन्तिम निर्णायक निकाय अन्तराष्ट्रिय न्यायालयको परिशरमा यो प्रतिमा प्रतिस्थापनले बिशिस्ट अर्थ राखेको सहजै अनुमान गर्न सकिन्छ !

त्यस्तै संस्थागत विस्तारमा पनि उत्तिकै लाग्यौँ । म अध्यक्ष हुँदा ५७ देशमा संगठन थियो । अहिले ६५ देशमा विस्तार भएको छ । तर केहि बिसंगतिहरुको पनि सुरवात भएको छ ! दुःखको कुरा, नेपालको जातीय राजनीतिको प्रभाव एनआरएनएमा पनि परेको छ । विदेशमा रहेर पनि नेपालीहरुले जातीय कुरा उठाउन थालेका छन् । नेपालीहरु विदेशमा विभाजित भएको देख्दा दुःख लाग्छ । बिदेशमा हामी सबै ठाउँमा अल्पमतमा छौं ! त्यस हिसाबले त हामी सबै त्यहाँ जनजाती हौं भन्दा पनि हुन्छ । विदेशमा त हामी नेपाली हुनुको नाताले एक हुनु जरुरी छ । यो संस्था विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्था हो ! राजनीति र जातीय सोचले नेपालीहरुलाई अहिले विदेशमा समेत विभाजित गर्दै लगेको छ । यस रोगबाट जोगाउन नसके यो संस्थाको सौन्दर्य समाप्त हुन कत्ति बेर पनि लाग्ने छैन।

सामाजिक जीवन संगै प्रत्येक मानिसको आफ्नो ब्यक्तिगत जीवन पनि हुन्छ । तर जब सामाजिक क्षेत्रमा लागिन्छ, ब्यक्तिगत जीवन स्थगित हुदोरहेछ । आज म सोचिरहेको छु , मेरो यो ब्यस्तताभित्र म आफुँ कती थिएँ, परिवारको कती थिएँ र संस्थाको कती थिएँ । त्यसो त प्रत्येक  मानिस पहिला ब्यक्ती हो, त्यसपछि परिवार अनि समाज । सामाजिक क्षत्रमा काम गर्न थाले पछी व्यक्तिगत रुपमा सबैभन्दा ठूलो समस्या समय व्यवस्थापन भएको मैले महशुस गरें ! यति ठुलो संस्थाबाट धेरै मानिसहरुले अपेक्षा राख्नु अस्वाभाविक पनि थिएन । उनीहरु म संग भेटेर आफ्ना कुराहरु राख्न चाहन्थे । तर सबैलाई समय दिन कसरी सक्नु ? आफ्नो यो ब्यस्तता उनिहरुका निम्ती मेरो अब्यबाहरीकता जस्तो हुन पुग्थ्यो । सबैलाई समय दिन नसक्दा कहिलेकाहीँ त लाग्थ्यो, मेरो एक दिनमा तीस घण्टा भइदिए हुन्थ्यो ।

परिवारलाई समय दिन नसक्दा विन्दिता र छोराहरु बेलाबेलामा गुनासो गर्थे । मस्कोमा रहंदा प्राय: सनिबार र आइतबार मैले परिवारका लागि छुट्याउने गरेको थिएँ । संघको अध्यक्ष भइसकेपछि भने सनिवार र आइतवार मैले धेरैजसो टेलिकन्फरेन्स र स्काईपमा बिताउनु पर्थ्यो । छुट्टीको दिन बाहेक अरु दिन साथीहरु सधै ब्यस्त हुने भएकोले टेलीकन्फरेंशहरु प्राय: हामी सप्ताहन्तमा नै गर्ने गर्छौं ! टेलीकन्फरेंश्मा दिनभरि बोल्दाबोल्दा म यति थाकेको हुन्थेँ कि कन्फरेन्स सकिएपछि मलाई एक शब्द पनि बोल्न मन लाग्थेन । म चुपचाप निदाउन खोज्थेँ । विन्दितालाई भन्थेँ-‘म आज धेरै थाकेको छु ! ’उनी गुनासो गर्थिन ‘दिनभरि अरुसँग कुरा गर्दाचाहिँ हजुर नथाक्ने तर मसँग बोल्दा भने थाकेँ भन्नुहुन्छ! म एक हप्तासम्म हजुरसँग एक घण्टा कुरा गर्न कुरिरहन्छु तर हजुर एक हप्तापछि एक घण्टा पनि मेरा लागि सयम दिनुहुन्न ! उनलाई सुत्ने बेलामा एकछिन कुरा गर्न मन पर्छ । उनी व्यक्तिगत जीवनमा बढी रमाउन चाहने, म सामाजिक जीवनमा । तर उनी एकदम सहनशील छिन । बरु म यदाकदा आफैंलाई नियन्त्रणमा राख्न सक्दिन । यस्तो बेला म भन्ने गर्छु— ‘तिमी यति धेरै सहनशील छौ । तिमी पो समाजसेवामा लाग्नुपर्ने ।’ उनी र म फरक स्वभावका छौँ तर त्यही फरक स्वभाव नै हाम्रो सुमधुर सम्बन्धको कारण बनेको छ ।

भर्खर जिम्मेवारीबाट छुटकारा लिएँ । अब पहिलेको जस्तो व्यस्तता हुने छैन । व्यक्तिगत जीवन बाँच्ने समय अलि धेरै बच्नेछ । लाग्छ, मैले यो बिचमा मेरो परिबार प्रति अन्याय पो गरे की ? सोचिरहेकोछु— अब विन्दिता र छोराहरुले समय दिएन भनेर गुनासो गर्ने छैनन् । अब केहि समय मैले परिवारसंग अफ्रिकी देशहरु लगायत म अझैं पुग्न नसकेका केहि देशहरुको लामो यात्रामा खर्चनेछु ! त्यसको साथै मेरो रुचिको बिषय साहित्य अध्ययनमा बढी समय दिने प्रयत्न गर्नेछु ! मेरा बृद्ध बा-आमा लगायत आफन्त जनसंग समपर्क र सामिप्यता बढाउने छु !

दुई बर्षको यो कार्यकाल मेरा लागि धेरै हिसाबले फरक रह्यो ! यस बिचमा नयाँ कुराहरु मैले सिक्ने मौका पाएँ, थरि थरिका मानिसहरुको संगत मिल्यो ! मानिसहरुलाई छिट्टै पत्यार गरि हाल्न नहुने रहेछ भन्ने अनुभव पनि रह्यो । आफ्नो भन्नेहरु पराई र पराइ ठानेकाहरुले सहयोग गरे ! खुट्टा तान्नेहरु पनि देखें, आरिश गर्नेहरु पनि जता ततै देखिए ! केहि मानिसहरुका व्यक्तिगत चाहनाहरु मैले पुरा नगरेको निहुँमा म संग निक्कै खनिएर पनि लागे ! सहयोग गर्ने सबै साथीहरु प्रति सधैं आभारी रहनेछु ! असयोग गर्नेहरुसंग पनि अब मेरो कुनै गुनाशो छैन !

दुई बर्षको यो समयमा साथीहरुको सहयोगले केही राम्रा कामहरुको थालनी भए जस्तो लाग्छ, केही काम भने गर्न बाँकी नै रह्यो । जे जति गर्न सकें त्यसको श्रेय सहयोग गर्ने साथीहरुलाई नै जान्छ ! मेरा पनि केहि गल्ति र मानबिय कमजोरीहरु अबस्य भए होलान, त्यसका लागि म सबै साथिहरुसंग क्षमा चाहन्छु । संस्थाको दोस्रो तहमा बसेर काम गर्नु भन्दा नेतृत्वमा बसेर काम गर्दा बढी संवेदनशील हुनुपर्दो रहेछ । सानोसानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ । आफ्नो कार्यकालमा केही नराम्रो हुन्छ कि भन्ने डर हुँदो रहेछ । पब्लिक फिगर हुँदाको अनुभव अर्कै हुँदो रहेछ । त्यहाँ व्यक्तिगत जीवन हुँदो रहेनछ ।

आफु पछी सबल नेतृत्व हस्तान्तरण पनि एउटा मुख्य जिम्मेवारी हो जस्तो मलाई लाग्यो ! केहि साथीहरुले नेतृत्वमा आउने इच्छा नराखेका पनि होइनन ! तर म भने यो संस्थाको गरिमालाई अझ उच्च राख्न सक्ने व्यक्तिको खोजिमा थिएँ ! निर्वाचन प्रक्रियाबाट सबै हिसाबले सक्षम, सरल र शालीन स्वभावका सफल उद्यमी अस्ट्रेलिया निवासी मित्र शेष घलेजी नेतृत्वमा आउनु भएको छ ! म यो संस्थाको नेतृत्व उहाँ जस्तो सक्षम र खारिएको व्यक्तिलाई सुम्पिन पाएकोमा अति नै खुशी छु ! निर्वाचित भएर आए पछी पहिलो बैठकमा नै उहाँले घोषणा गर्नु भएका केहि कार्यहरु संघको दीर्घकालीन हितका लागि निक्कै आशा लाग्दा छन् ! निर्वाचनको समयमा उम्मेदवार साथीहरु बीच केहि तिता-मिठा अनुभूति पनि अबस्य भए होलान ! निर्वाचनको ह्यांगओभरबाट अब मुक्त भई नयाँ नेतृत्वमा आउने साथीहरुलाई हामी सबै मिलेर सहयोग गरौँ ! भोलिका दिनमा यस संस्थाका महत्व, गरिमा र कार्यक्षेत्र अझै विस्तार भएर जानेछ !

अन्त्यमा मलाई सबैभन्दा थकथक लागेको बिषय चाहिं गैरआवासीय नेपालीहरुले स्थापनाकाल देखि शसक्त रुपमा उठाउदै आएको नेपाली नागरिकताको निरन्तरता सम्बन्धि बिषय हो ! यसका लागि म लगायत हाम्रो टिमले निक्कै ठुलो कसरत र लबिंग समेत गरेको थियौं र सम्बन्धित सबै पक्ष सहमत समेत भै सकेको अवस्था थियो तर दुर्भाग्यबस संबिधान नै नलेखीई गत बर्ष संबिधान सभा बिघटन भएकोले मेरो त्यो सपना आगामी नेतृत्वका लागि कार्यभारका रुपमा मैले छोडेर बिदा भएको छु ! संबिधान सभा-२ को निर्बाचन पछी देशमा राजनैतिक स्थिरता र दिगो शान्ति स्थापना होओस र लामो समय सम्म हामी सबैले प्रतीक्षा गरेको नयाँ संबिधानमा हाम्रो यो आवाज पनि समेटियोस, मेरो शुभकामना !

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.