Menu

टापु टापु – यात्रा संस्मरण (जीवा लामिछानेको)

३१ मे २०११

जिबा लामिछाने

श्यामश्वेत जीवनको पानालाई भ्रमण र मनोरञ्जनले रंगीन तुल्याउन यसपटक नयाँ वर्ष र क्रिसमसको छुट्टीमा म, विन्दिता, अनुराग र अनुकृतले प्रकृतिको सुन्दरतम् देश माल्दिभ्स जाने योजना बनायौँ। त्यसो त माल्दिभ्स रसियनहरूको निकै लोकप्रिय गन्तव्य पनि हो। क्रिसमस र नववर्षको रौनकसँगै नियमित उडान, अतिरिक्त उडान तथा चार्टर उडान भरेर माल्दिभ्स जाने लहर नै चल्ने गर्छ, यहाँ। ट्रान्सएरो एयरलाइन्सको मस्कोबाट माल्दिभ्ससम्म दैनिक उडान छ भने इमिरेट्स र कतार एयरलाइन्सले पनि नियमित उडान गर्ने गर्छन्। हामी बितेको २३ डिसेम्बरको रात्रिमा मस्कोबाट इमिरेट्स एयरलाइन्समार्फत दुबई पुग्यौँ। हाम्रा अनन्य मित्र डा डीके डंगोलको बीसौँ वैवाहिक वर्षगाँठ मनाउन उपेन्द्रजी र समता भाउजू पनि सपरिवार हामीसँगै दुबईसम्म पुग्नुभएको थियो। हार्दिक निमन्त्रणाका बाबजुद परिस्थितिवश हामीहरू भने उक्त अवसरमा सामेल हुन सकेनौँ। दुबईमा तीन घन्टाको ट्रान्जिट भएकाले हामीले पुस्तक, इन्टरनेट तथा कुराकानीका माध्यमले घडीको सुईलाई तीव्र घुमायौँ। नियमित कामको विषयान्तरलाई नै आराम तथा मनोरञ्जन मानिने व्यस्त समाजमा ट्रान्जिट तथा हवाईयात्रामा पुस्तक पढ्ने बानीले मलाई यात्रा गर्न निकै सहज बनाउने गरेको छ। प्राप्त भएसम्मका नेपाली, अंग्रेजी, हिन्दी वा रसियन भाषाका पुस्तकहरू पढ्दा मैले जीवन र जगत्का विविध आयामहरूसँग साक्षात्कार हुने अवसर पाएको छु। कहिलेकाहीँ शान्त मस्तिष्कमा सोचाइको लहर आउँछ : यदि पुस्तकहरू नभएका भए यो विश्व कस्तो उराठलाग्दो मरुभूमि हुन्थ्यो होला? इमिरेट्स एयरलाइन्सको ईके ६५२ फ्लाइटबाट अपराह्न ३ बजे हामीहरू हुलहुले टापुमा अवस्थित माले अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौँ। साना टापुहरू, साना घरहरू, साना बगैँचाहरू आहा ! कति राम्रो मौसम ! कति कौमार्य वातावरण ! मैले एटोल प्याराडाइज ट्राभल कम्पनीमार्फत होटल बुक गरेको थिएँ। उनीहरूको प्रस्ताव अनुरूप हामीहरू ‘स्पिड बोट’बाट पानीको छालसँगै तीव्र गतिमा सेराटोन माल्दिभ्स फुल मुन रिसोर्ट एन्ड स्पा होटल पुग्यौँ। ‘मिट एन्ड ग्रीट’ अर्थात् भेट र आतिथ्यको सिद्धान्त अनुरूप उनीहरूले हामीलाई हार्दिकताको न्यानो जुस पिलाए, चिसो जुस, न्यानो स्वागत ! त्यहाँबाट हामीहरू समुद्री तटमा अवस्थित २ सय ८ नम्बरको कटेजमा पुगेर विश्राम गर्‍यौँ। यो होटल प्राचीन र अर्वाचीन कलाको अनुपम नमुनाले सजिएको छ। सातवटा रेस्टुराँ र आठवटा ‘लङ् बार’ भएको यस होटलको भव्यता लोभलाग्दो छ। होटलको सबै क्षेत्रफल हरियालीले ढाकिएको छ र वरपर सेता बालुवाका किनारहरू, कोरिडरहरू, सुन्दर बगैँचाहरू र समुद्र किनारमा पुलेसाहरू अवस्थित छन्। होटलको सुरक्षार्थ पाँच जना नेपालीहरू पनि रहेछन् त्यहाँ, नेपालीमै कुरा गर्न पाइयो, टापुको देशमा। यो पहारिलो, अनुपम, प्रदूषणले नबिथोलिएको, सामुद्री छालले जमिनलाई चुम्बन गररिहने, सूर्योदय र सूर्यास्तको आनन्द लिन पाइने, नीलो समुद्र, सुन्तला रङको आकाश, सेतो बालुवा र हरियो वातावरणले सिँगारिएको माल्दिभ्स समुद्री तटको सुन्दरता, आराम र मनोरञ्जन, प्राकृतिक वातावरण र गुणस्तरीय रिसोर्टले विश्वकै पर्यटकहरूलाई आकषिर्त गररिहेको छ। हामीहरू पनि शीतल र नुनिलो पानीमा पौडी खेल्यौँ, समुद्रको ढुंगे सतहमा हिँड्यौँ, पानीमुनि श्वास फेर्न मिल्ने गरी बनाइएको स्कुवामा रमायौँ, पानीभित्र खेलिने खेल खेल्यौँ, पेय र स्न्याक्सको स्वाद लियौँ अनि तटको आरामकुर्सीमा लमतन्न पल्टिएर सौर्यस्नान गर्‍यौँ। स्वर्गबाट खसेको यो स्वप्निल टापुमा। माल्दिभ्सको तथ्य तथा वास्तविकता पनि अत्यन्तै रोचक छ। सार्क राष्ट्रको सबैभन्दा सानो मुलुक माल्दिभ्स हिन्द महासागरका १ हजार १ सय ९२ वटा ससाना टापुहरूबाट बनेको छ। तीमध्ये दुई सय टापुहरूमा मात्र मानव बसोबास छ। माल्दिभ्स एसिया तथा मुस्लिम राष्ट्रको पनि सबैभन्दा सानो देश हो। यहाँको जनसंख्या करबि तीन लाख मात्र छ। समुद्री सतहबाट जमिनको औसत उचाइ १ दशमलव ५ मिटर मात्र रहेको माल्दिभ्स विश्वमा सबैभन्दा होचो राष्ट्र मानिन्छ। यहाँको सर्वोच्च उचाइ विलिंगिली टापुको एडु एटोल २ दशमलव ४ मिटर मात्र अग्लो छ, समुद्री सतहबाट। यस शताब्दीमा समुद्री सतह २० सेमि बढेको वैज्ञानिक विश्वास छ। यहाँको सरकारले आफ्नो राष्ट्र डुब्ने डरले भारत तथा अस्ट्रेलियामा जमिन किन्दै छ रे ! माल्दिभ्सका राष्ट्रपति मो नसिदले केही समयअगाडि भनेको कुरा निकै मार्मिक छ। उनले भनेका थिए, “हामीहरू यो सुन्दर तथा समृद्ध देश छोड्न चाहन्नौँ र पानी शरणार्थी भएर कुनै देशमा पालभित्र बस्न पनि सक्दैनौँ।” यो भनाइभित्र सम्भावित भवितव्यको त्रास, योजना तथा स्वाभिमान अन्तरनिहित छ। त्यसो त जमिनको सतह बढाउन माल्दिभ्सले बंगलादेशसँग माटो किन्ने खबर पनि अखबारमा आइरहेका थिए। विसं ३०० मा भारतको केरला, अरब तथा केही अफ्रिकी देशबाट मानिसहरू माल्दिभ्स आएर बसोबास गरेको इतिहास पाइन्छ। माल्दिभ्स संस्कृत भाषा माला+द्वीपबाट बनेको छ, जसको अर्थ हुन्छ, टापुहरूको माला। यहाँ बोलिने भाषा दिभेही हो, जसको जरो पनि संस्कृत भाषा नै मानिन्छ। माल्दिभ्स मुस्लिम राष्ट्र हो, जहाँ मुस्लिम धर्मावलम्बीबाहेक अरूले घरजग्गासमेत किन्न पाउँदैनन्। यस राष्ट्रले सन् १९६५ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको हो। यहाँ सन् १९६८ सम्म राजतन्त्र थियो र अन्तिम सुल्तान मो फरदि थिए। यहाँका प्रथम राष्ट्रपति इब्राहिम नासिर हुन्। मो अब्दुल गयुमले तीस वर्ष राष्ट्रपतिको रूपमा यहाँ शासन गरे। वर्तमान राष्ट्रपति मो नसिद सन् २००८ मा प्रथमपटक बहुदलीय प्रतिस्पर्धाबाट निर्वाचित भएका थिए। माल्दिभ्सको अर्थतन्त्र मुख्य रूपमा पर्यटन तथा मत्स्य व्यवसायमा आश्रित छ। ९० प्रतिशतभन्दा बढी आम्दानी पर्यटन व्यवसायबाट हुन्छ। यहाँ ८९ वटा स्तरीय रिसोर्टहरू छन्, जसमा १७ हजार बेडको क्षमता छ। वाषिर्क छ लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने यस देशमा होटलहरू अत्यन्तै स्तरीय एवं सुविधासम्पन्न छन्। हाम्रा गाइडले प्रसंगवश भनेका थिए, “हामीहरू गुणस्तरीय एवं महँगो पर्यटनलाई मात्रै प्रवर्द्धन गर्छौं, सम्भवत: एसियाकै महँगो।” उनले त्यसो भनिरहँदा मलाई हामीकहाँ सौराह र ठमेलतिर बग्रेल्ती घुमिरहने झोले पर्यटकको सम्झना भइरह्यो। हामीहरूले अधिकांश समय समुद्रको तटमा बसेर पानीसँग बितायौँ। स्वीमिङ् ड्रेस लगाएर सयौँ पर्यटक माछाझैँ पौडिरहेका थिए, सयौँ पर्यटक तटका आरामकुर्सीमा पेयपान तथा सौर्यस्नान गररिहेका थिए। विन्दिता, अनुराग र अनुकृतले यस यात्रालाई अविस्मरणीय बनाए। उनीहरू पौडिएर, भिजेर तथा पानीभित्र उभिएर पनि अघाएका थिएनन्, अञ्जुलीभर पानी लिएर आपसमा छ्यापाछ्याप गररिहेका थिए। हामीले विज्ञानमा पढेका थियौँ, पानी रङहीन, गन्धहीन तथा स्वादहीन हुन्छ भनेर। तर, मैले यहाँको पानीमा सांगीतिक शब्द, आदर स्पर्श, नीलो रूप, नुनिलो रस तथा मत्स्यगन्धको अनुभूति गरेँ। जलक्रीडापश्चात् आरामकुर्सीमा ढल्किएपछि मैले मेरो मनमस्तिष्क रित्तो महसुस गरेँ। मैले धपेडी बिर्सिएँ, तनाव बिर्सिएँ, व्यवसाय बिर्सिएँ। समुद्र, तट, घाम, टापु आदि आँखा बन्द गरेर देखेजस्तो, आँखा खोलेर नदेखेजस्तो। विन्दिताको मुहारमा पनि तनाव, धपेडी र अधीरताका रेखाहरू हराइसकेका थिए, बच्चाहरू रमाएको देखेर उनी पनि निकै हषिर्त भएकी थिइन्। क्रिसमस इभमा हाम्रो होटलले पार्टीको आयोजन गरेको थियो, संसारकै जल, स्थल र नभमा पाइने चौरासी व्यञ्जन, सप्तरंगी सजावट र सांगीतिक माहोलमा। कान्छो छोरा अनुकृतले कलात्मक भव्य केक काटेर निकै रमाइलो गर्‍यो। होटल व्यवस्थापकले उसको जन्मदिनको उपहारस्वरूप हाम्रो कटेजमा अनुपम केक पठाइदिएका थिए। विन्दिताले चकलेट, बेलुन, बर्थ डे क्याप, पेयपदार्थ आदिको व्यवस्था गरेकी थिइन्। २५ डिसेम्बरमा होटलले आफ्नातर्फबाट समुद्री तटको कोकोनट ग्रुभ बारमा सेन्ट क्लाउज पार्टीको आयोजन गरेको थियो, विशेष गरी बच्चाहरूका लागि। सेन्ट क्लाउज डुंगाबाट आएपछि केक काट्ने, खाने, पिउने, नाच्ने, गाउने, खूब रमाइलो भयो। अर्को दिन हामीहरू ‘स्पिड बोट’मा पानीको छालसँग लुकामारी खेल्दै २० मिनेटको यात्रापश्चात् माले पुग्यौँ। माल्दिभ्सको राजधानी माले एउटा सानो डुंगा आकारको टापु हो, जहाँको जनसंख्या करबि एक लाख छ। यसको लम्बाइ २ दशमलव ५ किमि र चौँडाइ १ दशमवल ५ किमि मात्र छ। हामीहरूले राष्ट्रपति भवन/निवास, प्रसिद्ध मस्जिदहरू, त्यहाँका भव्य साना पार्कहरू तथा बजारको भ्रमण गर्‍यौँ। त्यहाँको प्रसिद्ध माछाबजारमा डल्फिनलगायत विभिन्न जाति, प्रजाति, रूप र रङका ताजा माछाहरू बेचिरहेका थिए भने अर्को कुनामा सुक्खा माछा बिक्रीमा राखिएको थियो। विन्दिताले एसियाको भ्रमणमा प्राय: सुक्खा माछा किन्न मन पराउँछिन्। उनले विभिन्न प्रजातिका आठ किलो सुक्खा माछा किनिन्। २८ डिसेम्बरको बिहान साढे ६ बजे हामीहरू होटलबाट ‘स्पिड बोट’मार्फत साढे ७ बजे माले अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लाग्यौँ। त्यहाँ एटोल प्याराडाइजका मित्रहरू हामीलाई पर्खिरहेका थिए। मस्कोका लागि प्रस्थान गर्ने बेलामा २६ डिसेम्बरको एउटा मार्मिक घटनाले मलाई चिमोटिरह्यो। २६ डिसेम्बर दिउँसो विन्दिता र छोराहरू समुद्रमा रमाइरहेका बेला मैले एक प्रौढ व्यक्तिलाई भनेको थिएँ, “तपाईंहरू सुन्दरतम् देशका भाग्यमानी नागरिक हुनुहुन्छ।” उनले जवाफ दिएका थिए, “तपाईंलाई थाहा होला, केही दशकपछि हाम्रो देश पृथ्वीको नक्साबाट हराउनेछ। विश्व तापमान वृद्धिका कारण केही समयपछि पूरै माल्दिभ्स समुद्रमा डुब्नेछ। धनीमानी व्यक्तिहरू आफ्नो भविष्य सुरक्षित गर्न क्यानाडा, अमेरिका, बेलायत, सिंगापुर, थाइल्यान्ड, कोलम्बो तथा भारततर्फ बसाइँ सरसिके। संयुक्त राष्ट्रसंघ छ, सयौँ देशहरू छन्, उनीहरूले पक्कै पनि हामीलाई हाम्रो देशसँगै डुब्न दिने छैनन्। कतै न कतै हामीलाई स्थानान्तरण गर्नेछन्। हामीलाई भविष्यको ठूलो चिन्ता छ तर हाम्रा सन्ततिहरू निस्फिक्री छन्। उनीहरू काम गर्छन्, कमाउँछन्, रमाइलो गर्छन् अनि सबै पैसा उडाउँछन्। देख्नु भएन, १०/१२ वर्षको उमेरदेखि रोमान्समा लिप्त केटाकेटीहरू? रोमान्सको मामलामा हाम्रो देश पनि अरूभन्दा कम छैन। उनीहरूको विश्वास छ, अहिले दु:ख गरेर पैसा कमाउनुको कुनै अर्थ छैन। देशै डुब्छ भने किन बैँक ब्यालेन्स चाहियो? किन जग्गा र घर जोड्नुपर्‍यो? विश्वसमुदायले हामीलाई जहाँ पुर्‍याउँछ, हाम्रो क्यारियर तथा प्रगतिको संघर्ष त्यहीँबाट सुरु हुन्छ रे ! खरानीबाट ब्यूँतेर उठ्ने फिनिक्स पक्षीजस्तै। तर, हामीलाई ठूलो चिन्ता छ, हामीले गाँस, बास, कपास तथा रोजगार त पाउनेछौँ तर हामीले आफ्नो देश पाउने छैनौँ, मातृभूमि देख्ने छैनौँ। हामी कोही त्यो देश, कोही ऊ देश भएर बाँडिनेछौँ, जसरी यहाँ टापु-टापु भएर बाँडिएका छौँ। भविष्यमा पनि हामी टापु-टापु भएर रहनेछौँ, पूर्वपश्चिम, उत्तरदक्षिण भएर।” मैले मनमनै ईश्वरसँग प्रार्थना गरेँ, विश्व तापमान वृद्धिको शृंखला विशृंखलित होस्, त्यो थुम्काथुम्का राखेजस्तो देखिने टापुको माला सृष्टिको अस्तित्व रहेसम्म विश्व मानचित्रबाट लुप्त नहोस् र मेरा तथा हाम्रा अनुज सन्ततिहरू टापु-टापु हिँड्न पाऊन्, डुंगा-डुंगा चढ्न पाऊन् अनि तटतटमा प्रकृतिको सुन्दरता स्पर्श गर्न पाऊन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.