Menu

वैदेशिक रोजगार विभागमा खुलमखुल्ला घुसको कारोवार

१३ सेप्टेम्बर २०१२

काठमाडौं

काठमाडौंको बागवजार, नयाँ बसपार्क, कोटेश्वर, भक्तपुर, ग्वार्को लगायतका ठाउँ, ट्राभल्स र विज्ञापन एजेन्सीहरुले तयार पारेका पूर्व स्वीकृतिका फाईललाई संख्याको हिसाबले प्रतिगोटा एक हजारका दरले अवैध रकम लिएर स्वीकृति दिएपछि त्यसकै आधारमा निकालिने अन्तिम स्वीकृतिका फाईलमा कर्मचारीले फेरि प्रतिगोटा तीन हजारदेखि पाँच हजारसम्म लिएर अन्तिम श्रम स्वीकृति दिने गरेका छन् ।

म्यानपावर व्यवसायीहरुलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध जस्तै भएपछि एकपछि अर्को गर्दै नक्कली फाईल चलाउन शुरु गरेको महिनौ भैसक्दा पनि कोटाका आधारमा फाईल सदर गर्दै आएका छन् । सरकारविहीन अवस्थामा राज्य रहेको मौका छोपी स्थायी सरकार मानिने कर्मचारी प्रशासनले वेइमानी गर्दा सर्वसाधारण नागरिकहरु मारमा परेका छन् । गत हप्ता अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा हिंडेका करिव डेढ दर्जन सर्वसाधारणलाई नक्कली स्वीकृति भनेर समातियो र नक्कली स्टिकर भनेर ढाँटियो । वास्तविकता त्यो थिएन । बागबजारमा तयार पारेका नेपाली दूतावास प्रमाणित कागजातका आधारमा अवैध रकम लिएर दिइएको श्रम स्वीकृतिमा स्टिकर सक्कली नै थिए । नक्कली कागजातका आधारमा श्रम स्वीकृति दिएको भन्दा फस्ने हुँदा नक्कली स्टिकर भनेर जनताका आँखामा छारो हालियो । प्रचारबाजी गरियो । विभागलाई दुहुनो गाई बनाउनेहरुले सर्वसाधारण ठगिएको तर्फ चासो राख्ने फुर्सदै पाएनन् ।

पाँच वजेपछि लगभग सात बजेसम्म बसेर सिसिटिभिका लाइन बन्द गरी विभाग भित्रै दैनिक लाखौ अवैध कारोवार हुँदा आफ्नै कुर्सीको वरिपरि भएको भ्रष्टाचारलाई ढाकछोप गर्न अघिपछि संस्थागत मिडियालाई लगाएर आफ्ना कर्तुत ढाकछोप गर्ने प्रयास गरे पनि समयले झुठ्ठो सावित गर्नेछ । मालपोतमा घुस खान खप्पिस कर्मचारीहरुलाई विभागमा ल्याइएको छ । विभागमा अहिले दरवन्दी भन्दा करिव ३० जना बढी कर्मचारी कार्यरत छन् । अन्तिम स्वीकृति शाखामा अरबी भाषामा रहेको भिसा उल्था गर्ने करार कर्मचारीदेखि कम्प्युटर र छाप लगाउने ठाउँदेखि दर्ता गर्ने सम्म घुस बुझाउनु पर्छ । फाईल तल माथि गरेर खान पल्केकाहरुले त विभागलाई ससुराली घर झैँ बनाएका छन् । व्यवसायीहरुले गरेका गलत कामलाई वैधानिकता प्रदान नगरी अवैध रकमको कारोवार नहुने हुँदा सक्कलीभन्दा नक्कली स्वीकृतिका फाईल आउँदा कर्मचारीहरुलाई दशैं आए जत्तिकै हुने गरेको छ । अर्कोतर्फ व्यक्तिगत रुपमा जानु पर्ने तर विभागले तोकेको प्रकृयामा नआएका भिसा र पासपोर्टहरुलाई म्यानपावर व्यवसायीहरुले विदेशस्थित सम्वन्धित कामदार सप्लाई कम्पनीबाट गलत प्रयोजनको लागि बनाइएका डिमान्ड र कलिङ भिसा पठाउन लगाएर समेत विभागबाट पूर्व, अन्तिम स्वीकृति लिने÷दिने गरिएको छ । त्यसैगरी नवीकरणमा एजेन्ट मार्फत श्रम स्वीकृति झोलैमा हुने गरेको छ । श्रोतका अनुसार नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा पनि एजेन्टमार्फत व्यक्ति पहिचान भएपछि मात्र श्रम स्वीकृति दिने गरिएको छ । कागजात तयार पारी लाइन लगाउने एजेन्टको पहिचान नभै कुनै पनि श्रम स्वीकृति निस्कदैन । अघिल्लो दिन स्टिकरको इन्ट्री गराएर एजेन्ट र म्यानपावरका अफिसमा गएरै श्रम स्वीकृति दिने गरिएको पुरानो चलनलाई फेरि व्यूँताउन थालिएको श्रोतले उल्लेख गरेको छ भने विभाग सरुवा भएर आएका कर्मचारीले आ–आफ्नै एजेन्टमार्फत काम गर्ने र अवैध रकम असुल्न गरेका छन् ।

स्रोतः अनलाइन खबर

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.