Menu

साइबर अपराध बढाउँदै फेसबुक, प्रहरी अधिकारी कै नक्कली फेसबुक


केपी ढुंगाना, काठमाडौं, पुस १४
सामाजिक सञ्जाल फेसबुकमा आफ्नै विद्यार्थीकी दिदीको नाममा एकाउन्ट खोलेर अश्लील सामाग्री राख्ने शिक्षक भोजराज सुब्बा कारागारमा छन्। फेसबुकको लोकप्रियता र यसबाट पीडित हुनेको संख्या सँगसँगै बढ्दो छ, तर फितलो कानुन र फेसबुक मुख्यालयको असहयोगले अपराधीलाई फन्दामा पार्न नसकेर प्रहरी हैरान छ।
महानगरीय प्रहरी अपराध महाशाखा साइबर क्राइम सेलको तथ्यांकअनुसार फेसबुकबाट हैरान भएर प्रहरीकहाँ धाउनेको संख्या दिनहुँ बढिरहेको छ। सेलमा दर्ता भएका १८ उजुरीमध्ये १० वटा त फेसबुकविरुद्धै छन्।

अमेरिकामा मुख्यालय रहेको फेसबुकका विश्वभर ५० करोड प्रयोगकर्तामध्ये ६ लाख ५० हजार प्रयोगकर्ता नेपालमै छन्।
गत वर्ष फेसबुकविरुद्ध तीनवटा उजुरी दर्ता भएकामा यस वर्ष नौ महिनामै सातवटा पुगिसकेको सेलले जनाएको छ। फेसबुकबाट हैरान भए पनि प्रहरीसम्म नआएकाको संख्या उल्लेख्य रहेको प्रहरी अनुमान छ।
आफ्नो नाममा अर्कैले फेसबुक खाता खोलेर दुरुपयोग गरेको उजुरी सबैभन्दा धेरै आएका छन्। उजुरीकर्तामा युवतीको संख्या बढी छ। फेसबुक गुनासो लिएर प्रहरीमा आउने युवक संख्या पनि बढ्दो रहेका सेलका प्रहरी निरीक्षक चन्द्रसिंह धामीले बताए। ‘अपरिचित व्यक्तिले आफ्नो नाममा फेसबुक खोलेर जथाभावी स्टाटस र नग्न तस्बिरसमेत राख्ने गरेको उजुरी बढी आएका छन्,’ उनले भने।
उजुरीसँगै सेलका प्रहरीको समय पनि फेसबुकले बढी लिन थालेको छ। इमेल थ्रेट, भिओआइपी, एसएमएस थ्रेट, वेबसाइट ह्याकजस्ता अपराध अनुसन्धान गर्ने कार्यक्षेत्र तोकिएको सेलका प्रहरी अधिकारीको अधिकांश समय अहिले फेसबुक अनुसन्धानमै बित्ने गरेको उनीहरू बताउँछन्। तर, सोचेजस्तो उपलब्धि हात पार्न नसकिएको उनीहरूको गुनासो छ।
प्रहरीले गुनासो आउनासाथ फेसबुक एकाउन्ट बन्द गरिदिन्छ, तर साइबर अपराधी भने पक्राउ पर्दैनन्। सेलका एक प्रहरी अधिकारीका अनुसार फेसबुक दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्नेमा सुब्बा अपवाद मात्र हुन्। प्रहरीले अन्य प्रक्रिया अपनाएर अनुसन्धान गर्दा उनी फेला परेका थिए।
गृहमन्त्री भीम रावलको नाममा फेसबुक एकाउन्ट खोल्ने व्यक्ति अझै प्रहरी फन्दाबाहिरै छ। अरूको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्नेको पहिचान गर्न फेसबुक मुख्यालयको सहयोग चाहिन्छ। तर उसले यस्ता विषयमा सहयोग गर्दैन।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार फेसबुकको दुरुपयोगबाट भएका अपराध नियन्त्रणमा प्रस्ट कानुनी व्यवस्था नहुँदा अझ समस्या छ।
असम्बन्धित व्यक्तिले अर्काको नाममा फेसबुक एकाउन्ट खोलेर दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परे पनि फेसबुक सञ्चालकले त्यसको रेस्पोन्स नगर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको अनुभव छ।
अन्तर्राष्ट्रिय सञ्जालमा समन्वयको अभाव र प्रस्ट कानुनी व्यवस्था नहुँदा फेसबुकमार्फत हुने गरेका अपराध अनुसन्धान जटिल भएको उनीहरू बताउँछन्। इन्टरनेटबाट हुने गरेका अपराधसम्बन्धी महासन्धि नेपालले स्वीकार नगरेको र फेसबुकको केन्द्रमा नेपालको सहज पहुँच नहुँदा प्रहरीले उजुरी आएको विषयको अनुसन्धान गरी एकाउन्ट बन्द गराउने गरे पनि अभियुक्तको पहिचान गरी कारबाहीको दायरामा भने ल्याउन नसकिएको उनीहरू बताउँछन्।

समस्या र प्रमाणसहित फेसबुकलाई मेल गर्दासमेत कुनै प्रतिक्रिया नआउँदा अनुसन्धान अधिकारी हैरान छन्। ‘उजुरीबारे जानकारी दिएर सहयोग माग्दा फेसबुकले आफ्ना धेरै ग्राहक भएकाले यस्ता समस्या हेर्ने कर्मचारी नभएको भन्दै पन्छने गरेको छ,’ धामीले भने।
पटकपटक आग्रह गरिए फेसबुकले अदालतबाट जारी कागजातसहित एक सयदेखि पाँच सय डलरसम्म शुल्क माग्छ। प्रहरी निरीक्षक धामीले भने, ‘अनुसन्धान प्रक्रियाको जटिलताले फेसबुक एकाउन्ट बन्द गराउनमात्र सकिन्छ, अपराधीसम्म पुग्न गाह्रो छ।’
एआइजी कै नाममा नक्कली फेसबुक खाता
एआइजी अर्जुनजंग शाहीको तस्बिर खोज्दा उनको नाममा फेसबुक एकाउन्ट फेला पर्यो । मनकामना मन्दिर पृष्ठभूमिमा शाहीको तस्बिर राखेर खोलिएको फेसबुक एकाउन्ट अहिले पनि सक्रिय छ। तर, शाही सो एकाउन्ट आफ्नो नभएको बताउँछन्। उनको एकाउन्टमा तीनजना मात्र साथी छन्, स्टाटस पनि अपडेट छैन।
काठमाडौं प्रहरी प्रमुख एसपी रमेश खरेलको नाममा पनि फेसबुक एकाउन्ट छ, तर उनी फेसबुक प्रयोगकर्ता भने होइनन्। ‘मेरो तस्बिर र नाम भएको फेसबुकमा एकाउन्ट छ भन्ने सुनेको छु,’ एसपी खरेलले भने, ‘मैले अहिलेसम्म फेसबुक चलाएकै छैन।’

एसपी रमेश खरेलको नाममा फेसबुकमा खोलिएको पेज जसमा खरेलको नाममा स्टायटस अपडेट गरिएको छ
खरेलको नक्कली एकाउन्टमा १९ सक्कली साथी छन्। प्रहरी निरीक्षक सन्तोषसिंह राठौर, सई दीपेन्द्र चन्द र गणेशराज उप्रेतीसहित १९ जनाले उनलाई साथी बनाएका छन्। १२ सय ६१ जनाले उनको एकाउन्ट मन पराएका छन्।
छवटा तस्बिर र उनको व्यक्तिगत विवरणसमेत राखिएको खरेलको एकाउन्टको स्टाटस बेलाबेला अपडेट हुन्छ। उनको स्टाटसमा लेखिएको छ- ‘राजनीतिज्ञले प्रहरीको कामकारबाहीमा हस्तक्षेप नगर्ने हुँदो हो त ५० प्रतिशत अपराध स्वतः घट्ने थियो।’ खरेलले भने, ‘मनलागी स्टाटसले समस्या निम्तने गरेको छ, तुरुन्तै त्यो बन्द गर्न लगाउँछु।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.