Menu

देश―विदेश जोड्दै

१७ अप्रिल २०११
रामजी दाहाल र प्रभात भट्टराई

सुदूरपश्चिम बाजुराको कोल्टीबाट जहाज उड्न नसक्दा गर्भवतीको मृत्यु भएको खबरले पूर्वको ताप्लेजुङवासीलाई दुखित तुल्याउँछ। कोशीको विनाशकारी भेल सप्तरीमा पसेको केही घण्टामै कैलालीमा सहयोग सङ्कलन शुरु हुन्छ। इलामको कृषिजन्य उत्पादन बैतडीको चासो बन्छ। रामेछापको जुनार खेतीको प्रेरणाले दार्चुलावासीमा विकासको आकाङ्क्षा बढ्छ। भौगोलिक रूपमा टाढा भए पनि नेपालीहरूलाई भावनात्मक रूपमा यसरी जोड्ने काम सञ्चारमाध्यमले गरेका हुन्। सञ्चारमाध्यमले नै गराएको सांस्कृतिक घुलमिलका कारण छठ पर्व अब तराईको मात्र भएन।

२०४६ सालको परिवर्तनपछि मुलुकले अँगालेको उदार अर्थनीतिले सञ्चारमाध्यममा लगानी बढाएकोछ र सञ्चारमाध्यमले जनसरोकार प्रवर्धन गरेर जनविश्वास हासिल गरेका छन्। जनमानसलाई तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासन विरुद्ध प्रजातन्त्रका पक्षमा उभिन प्रेरित गरेका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूआफैं पनि प्रजातन्त्रविना स्वतन्त्र पत्रकारिताको अस्तित्व रहँदैन भन्ने निष्कर्ष निकाल्दै आन्दोलनमा उत्रिएका थिए। सञ्चारमाध्यमको भूमिकाबाट अत्तालिएका शाही सरकारका मन्त्रीहरूले यसलाई आठौं दलको संज्ञा दिएका थिए।

पञ्चायतको उकुसमुकुसमा खुम्चिएका सञ्चारकर्मीले २०४७ सालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित भएपछि खुल्लापन अनुभव गरेका हुन्। २०४६ सालअघि रेडियो नेपाल, नेपाल टेलिभिजन र औंलामा गन्न सकिने पत्रपत्रिका थिए, शहरमा भारतीय पत्रिका र टेलिभिजन च्यानलहरूको गहिरो प्रभाव थियो भने गाउँघर सूचनाविहीन थिए। अहिले करिब ३०० एफएम रेडियो र १३ वटा टेलिभिजन प्रसारण भइरहेको सञ्चार मन्त्रालयको फागुन २०६७ सालसम्मको तथ्याङ्कले देखाउँछ। प्रसारण अनुमति लिने एफएम रेडियो र टेलिभिजन क्रमशः ३७३ र २८ छन्। प्रेस काउन्सिल नेपालको पछिल्लो प्रतिवेदन अनुसार देशभर दर्ता भएका ३०५६ पत्रपत्रिकामध्ये ४६५ वटा दैनिक छन्। दक्षिणएसियामै पहिलो नेपालको सामुदायिक रेडियो सफलताको अन्तर्राष्ट्रिय उदाहरण बनेको छ। एफएम रेडियोले न्यून साक्षरता दर भएका नेपाली गाउँघरलाई सूचनाको सञ्जालमा हुल्न र स्थानीय विषयवस्तुलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएका छन्।

निजी क्षेत्रबाट सञ्चालित रेडियो, टेलिभिजन र छापा माध्यममा करिब रु.१० अर्ब लगानी भएको छ, सरकारी सञ्चारमाध्यममा पनि उत्तिकै ठूलो लगानी छ। दुई वर्षअघि रु.७५ करोड लिएर कान्तिपुर प्रकाशनका एक साझेदार बाहिरिएको खबरबाट पनि मिडियामा भएको लगानीको अनुमान लगाउन सकिन्छ। छोटो समयमा ठूलो प्रगति गरेको सञ्चार क्षेत्रलाई नेपाली विज्ञापन बजारले धान्दै आएको छ। सञ्चारविद्हरू यसलाई खुल्ला अर्थतन्त्रको देन मान्छन्।

चुनौती र सम्भावना

 

विश्वमा चलेको पछिल्लो प्रविधिसँगै प्रस्तुतिमा अन्तर्राष्ट्रिय धार समातेका नेपाली सञ्चारमाध्यमहरू विषयवस्तुको स्तरीयतामा भने अझ्ै चुकिरहेको पत्रकार किशोर नेपाल बताउँछन्। समाचारका कतिपय विषयवस्तुमा लगानीकर्ताको स्वार्थ हावी भएको र कतिपय विषयवस्तुमा राजनीतिक स्वार्थ वा हस्तक्षेपले स्वतन्त्र पत्रकारिताको दायरालाई साँघुरो बनाएको गुनासो छ। स्वयम् सञ्चारकर्मीले नै राजनीतिक छहारी खोज्दै कलम चलाउने समस्या पनि आफ्नो ठाउँमा छ। स्वतन्त्रता उपयोग गर्ने नाममा कतिपय अवस्थामा मिडियाहरू उच्छृङ्खल हुँदा गम्भीर विषयवस्तु ओझेलमा परेको पनि पत्रकार नेपालको अनुभव छ। उनी भन्छन्, “सार्वजनिक महत्वका कुराहरू थाहा पाउनु जनताको सार्वभौम अधिकार हो भन्ने कुरा सर्वसाधारणलाई बुझाउने काम पनि मिडियाकै हो।”

यस्ता चुनौती हुँदाहुँदै पनि नेपाली सञ्चार क्षेत्रमा दक्ष र व्यावसायिक जनशक्तिको उपस्थिति बढेको र भोलिका दिनमा आशा गर्न सकिने प्रशस्त आधार भएको किशोर नेपालको धारणा छ। यसका लागि मिडियामा आर्थिक कायापलट चाहिँ हुनुपर्ने उनको तर्क छ। अर्का पत्रकार राजेन्द्र दाहालको अनुभवमा, कतिपय सञ्चारमाध्यमले महत्वपूर्ण विषयवस्तु उठाएर बीचैमा छाडिदिने र समाधानका उपायहरू नदिने गरेकाले पत्रकारिताको काम अधुरो भएको छ।

देश जोड्ने प्रविधि
चिरञ्जीवी वाग्लेले सञ्चारमन्त्री हुँदा लगाएको तोक अनुसार तात्कालीन दूरसञ्चार संस्थानले फोन वितरण गर्न नसकेपछि तत्कालीन सञ्चार सचिव भोजराज पोख्रेलले मन्त्रीको आदेश अवज्ञा गर्नुपरेको थियो। १५ वर्षअघिसम्म एउटा ल्यान्डलाइन टेलिफोन लिन पनि आवेदन दिएर वर्षौं प्रतीक्षा गर्नुपर्थ्यो भन्दा अहिले दन्त्यकथा जस्तो भइसकेको छ। अब त गाउँघर पाखापखेरामा ताररहित इन्टरनेट पुगिसकेको छ। ब्रोडलिङ्कका विनोद तिमिल्सिना वाईफाई इन्टरनेट सेवा शुरु गरेको तीन महिनाभित्रै राजधानी उपत्यकासँगै विराटनगर, हेटौंडा, काभ्रे, चितवन, बन्दीपुर, दमौली, गोर्खा, बेसीशहर, भैरहवा, बुटवल, पाल्पा र पोखरालाई आफ्नो सञ्जालमा समेट्न भ्याइसकेको बताउँछन्।

यसअघि नै नेपाल टेलिकमले सीडीएमए प्रविधिबाट गाउँ-गाउँसम्म इन्टनरेट पुर्‍याइसके पनि यो वाईफाई जति सहज थिएन। विदेशमा काम गर्न गएका श्रीमान् हुन् या पढ्न गएका छोरा-छोरी, सूचनाप्रविधिको बढ्दो प्रयोगले उनीहरूलाई परिवारसँग एउटै मालामा गाँसेको छ। घाँसदाउरा बोकेर मोबाइलमा कुरा गरिरहेको दृश्य गाउँघरमा सामान्य भए झैं चउरमा पलेंटी कसेर च्याट गरिरहेका दृश्य पनि अब छिट्टै सामान्य हुनेछन्।

नेपाल टेलिकम, स्पाइस नेपाल, यूटीएल जस्ता दूरसञ्चार कम्पनीका २३ लाख तथा मर्कन्टायल, वर्ल्डलिङ्क, ब्रोडलिङ्क लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीका ५० लाख इन्टरनेट प्रयोगकर्ता भएको अनुमान छ। आठ वर्षअघिसम्म ३० हजार ग्राहक र १ लाख ५० हजार प्रयोगकर्ता भएको आकलन गरिएको थियो। २०५९ सालमा नेपाल टेलिकमको मात्रै बोलवाला छँदा ल्यान्डलाइन फोन ३ लाख ७९ हजार र मोबाइल ८९ हजार थियो, अहिले टेलिकम र एनसेलका मोबाइल १ करोड ४ लाख तथा टेलिकमको ल्यान्डलाइन फोन ८ लाख ४२ हजार छन्।

२०६१ मा एनसेलको उपस्थितिपछि मोबाइलमा प्रतिस्पर्धा बढेको र ल्यान्डलाइनप्रति सर्वसाधारणको मोह भङ्ग भएको हो। नेपाल टेलिकमको सीडीएमए फोन र इन्टरनेटले कुनै जिल्ला र गाउँ नछोएको छैन। त्यही प्रविधिले प्रायः सबै गाउँका शिक्षितहरूलाई विश्वसँग जोडेको छ। म्याग्दीका विकट गाउँमा इन्टरनेट सेवा पुर्‍याउने महावीर पुन जस्ता समाजसेवीहरूको योगदान पनि ग्रामीण भेगमा प्रविधिको विकास गर्न अनुकरणीय छ।

 
आकासमा फड्को

 

२०४८ सालपछिको खुला नीतिबाट हवाई सेवामा आकर्षित निजी क्षेत्र आज अलमलमा हैन, सेवा विस्तारको चटारोमा छ। नेपालको आन्तरिक हवाई सेवामा भएको रु.३५ अर्ब लगानीमध्ये निजी क्षेत्रको २० अर्ब छ। जहाजमा मात्र रु.१५ अर्बभन्दा बढी लगानी गरेका निजी कम्पनीले वार्षिक करिब रु.६० अर्बको हवाई कारोबारको ८० प्रतिशत गट्छन्। तीमध्ये पनि बुद्ध एयर र यती एयरलाइन्सको मात्रै ६० प्रतिशत छ।

नेपालमा अहिले एक दर्जन हवाई कम्पनी तथा आधा दर्जन एभिएशन र एयर स्पोर्टस् कम्पनी सञ्चालनमा छन्। क्रमशः १४ र १३ वर्र्षदेखि व्यावसायिक उडान गरिरहेका बुद्ध र यतीसँगै नेपाल वायु सेवा निगम, अग्नि एयर र सीता एयरले फिक्सड विङ जहाजबाट तथा फिस्टेल, मनाङ, सिमि्रक र श्री एयरलाइन्सले हेलिकोप्टरबाट आन्तरिक उडान गरिरहेका छन्। डेढ वर्षदेखि गुण, तारा, माउण्टेन, काष्ठमण्डप र गोमा एयर पनि चल्दैछन्, जसमध्ये तारा एयर यतीकै नयाँ कम्पनी हो। मकालु, आकाश भैरव, पुमोरी एयर र हाइल्याण्ड एभिएशनले उडान अनुमति लिएका छन्।

नेपाली आकाशमा देखा परेर हराएका वायुसेवा कम्पनी पनि थुप्रै छन्― बेस एयर, नेपाल एयरलाइन्स, नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, एयर नेपाल इन्टरनेशनल, मुक्तिनाथ, लुम्बिनी, एशियन, कर्णाली, स्काइलाइन, साङ्ग्रिला, मनकामना हेलिकोप्टर। यीमध्ये एभरेष्ट एयर र नेपाल एयरवेज निजी क्षेत्रका लागि आकास खुल्नासाथ उडान अनुमति लिएका कम्पनी हुन् भने कस्मिक, नेकोन, एयर नेपाल र फ्लाई यतीले अन्तर्राष्ट्रिय उडान समेत गरिसकेका थिए। तर, यी सबै तीव्र प्रतिस्पर्धा, व्यवस्थापकीय कमजोरी र प्राविधिक ज्ञानको कमीले हराउन पुगेका हवाई व्यवसायीहरू बताउँछन्।

नेकोन र कस्मिकको पाठ
क्रमशः ११ र सात वर्ष चलेका नेकोन र कस्मिक एयरले नेपाली हवाई सेवामा ठूलो गुन लगाएका छन्― सस्तो भाडा, निःशुल्क टिकट, मोटरसाइकल उपहार जस्ता योजनामार्फत सर्वसाधारणलाई हवाई यात्रामा बानी पारेर। एभ्रो र एटीआर भित्र्याएको तथा राम्रै नाफा गरेर सात वर्ष कर्मचारीलाई बोनस समेत खुवाएको नेकोन, व्यवस्थापनको फट्याईं विना डुब्नै नसक्ने कतिपय हवाई व्यवसायीहरू बताउँछन्। फेरि नेकोन डुबे पनि त्यसका सञ्चालकहरू भने उक्सिएको बताइन्छ। नेकोन व्यवस्थापकीय कमजोरीले डुब्यो भने कस्मिक गलत जहाज छनोटका कारण डुबेको मानिन्छ। ३० हजार फिटको उचाइमा लगातार दुई-तीन घण्टा उड्ने १०० सिट क्षमताका चार वटा फोकरलाई १६ हजार फिटमा आधा घन्टा उडाउँदा हुने इञ्जिनको खराबी र बढी इन्धन खपतले कस्मिक धरासायी बनेको जानकारहरू बताउँछन्।

नेकोन र कस्मिकको असफलताबाट पाठ सिकेर अघि बढेका बुद्ध, यती र नयाँ कम्पनीहरूले सही बाटो समाएर राम्रै फड्को मारेका छन्। ४२ र ७२ सिटे चार एटीआर र चार बिचक्राफ्ट जहाजका साथ नेपालका शहरहरूमा उडान भर्दै आएको बुद्धले केही महिनादेखि काठमाडौं-लखनऊ सेवा शुरु गरेको तथा कोलकाता र बनारस उड्ने तयारी गरिरहेको छ। बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतका अनुसार कम्पनीले ७२ सिटे दोस्रो एटीआर पनि थप्न लागेको र १५० सिटको जेटलाइनर ल्याएर समुद्रपार उडान भर्ने योजना बनाएको छ।

शहरदेखि दुर्गम पहाडी विमानस्थलसम्म पखेटा पिँ्कजाएको यती एयरलाइन्सको तत्काल अन्तर्राष्ट्रिय उडानमा जाने योजना नभएको कम्पनीका कार्यकारी निर्देशक विजय श्रेष्ठ बताउँछन्। ताराबाट पहाडी क्षेत्र र यतीबाट शहरमा उडान गरिरहेको यती एयरलाइन्ससँग १४ वटा टि्वनअटर, डोनियर, जेट स्ट्रिम र पिलाटसपोर्टर जहाज छन्। नेपालमा हवाई सेवाको विकास निजी क्षेत्रकै प्रयासबाट सम्भव भएको ठान्ने श्रेष्ठ भन्छन्, “उपयुक्त नीतिका साथ सरकार अघि बढे छोटो समयमै धेरै गर्न सकिन्छ।”

विमान कम्पनीहरूले सरकारबाट संस्थागत र पूँजीगत सहुलियत पाएका छैनन्। नयाँ जहाज र उपकरण ल्याउँदा कर छुट छैन। उडान शुल्क पनि चर्कै छ। श्रेष्ठको भनाइमा, यातायातको विकल्प नभएका क्षेत्रमा उडान कर छुट गरिदिए भाडादर घट्ने र अन्तर्राष्ट्रिय उडानमा ब्याज सहुलियत र कर मिनाहा भए नेपालको पर्यटन मौलाउने थियो।


सिङ्गल इञ्जिनको भविष्य

धेरैजसो दुर्गम र पहाडी क्षेत्रमा उड्नुपर्ने नेपालका लागि एउटा इञ्जिन भएका तेल कम खपत हुनेे, १२ सय केजीसम्म सामान बोक्ने र सानो रनवेमा पनि बस्न सक्ने साना जहाज उपयोगी मानिन्छन्। एउटा मात्र इञ्जिन भएकाले जोखिम नियन्त्रणका लागि भने सरकारले नियमित अनुगमन गरेर तिनको सेवालाई विश्वसनीय बनाउनु जरुरी छ।

संसारभर चार किसिमका ३० हजार साना जहाज उड्छन्। नेपालमा हाल तारा एयरका दुई पिलाटस पोर्टर, गोमा एयर र मकालुका दुई-दुई वटा सेस्ना ग्राण्ड क्याराभान र काष्ठमण्डपका तीन प्यासिफिक एट्लस गरी नौ वटा साना जहाज उडिरहेका छन्। करिब रु.३६ करोड पर्ने टि्वनअटरमा १८ यात्रु सिट हुन्छ भने रु.७ करोडमै आउने सेस्ना ग्राण्ड क्याराभानले १२ जना उडाउन सक्छ। सुदूरपश्चिम पहाडको आकाशमा क्याराभानको निकै चहलपहल छ। गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्की सुर्खेतलाई आधार बनाएर दुई महिनादेखि सेती र कर्णालीका पाँच जिल्लामा उडान गरिरहेको बताउँछन्। तारा एयरको पाँच यात्रु बोक्ने पिलाटस पोर्टर पनि दुर्गम क्षेत्रका लागि बरदान सावित भएको छ। नेपालका सबै दुर्गम विमानस्थलमा पुग्ने साना जहाजहरू सामान ढुवानीको काम समेत गर्छन्।

पछिल्लो समय नेपालमा साना जहाज सञ्चालन अनुमति लिने सात नयाँ कम्पनी दर्ता भएका छन्। सिङ्गल इञ्जिन जहाजको उडान अनुमति खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका एयरटेक नेपाल ट्रेडलिङ्क कन्सल्टेन्टका प्रमुख दोर्जी छिरिङ शेर्पा भन्छन्, “नेपालका पहाडी जिल्लाको भविष्यको जहाज नै सिङ्गल इञ्जिन जहाज हुन्, जसले दुर्गम र पहाडी क्षेत्रको कायापलट गर्न सक्छन्।” एयर काष्ठमण्डप र मकालु एयरका बिजनेस प्लानर तथा परामर्शदाता शेर्पा अरूको तुलनामा लगानी र सञ्चालन खर्च कम पर्ने भएकाले साना जहाजको भाडा २५ प्रतिशत कम गर्न सकिने बताउँछन्। उनका अनुसार, ठूला तालहरूमा पानी माथि अवतरण गरेर जेट बोट सरह तैरिन सक्ने यस्ता जहाज पर्यटकीय विकासका लागि समेत महत्वपूर्ण हुन्छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.