Menu

बिदेशमा बिचल्ली पार्नेलाई कडा कार्बाहीको माग

२४ जुन २०१२
NRNA साउदी अरब

नेपालको कपिल म्यानपावर कम्पनीको ठगी, लापर्बाही, बेइमानी र गैरजिम्मेवारीपनका कारण बिगत ३ महिनादेखि ठूलो मानसिक तनाव र चिन्ता, शारीरिक यातना र दोहोरो अर्थिक क्षति ब्यहोर्दै आएका मोरङ डांगीहाट – ३ का होमनाथ बास्कोटाले आज २४ जुनमा बल्ल स्वदेश फर्किन पाएका छन । नेपाली दूतावास रियादको कुटनैतिक तथा प्रशासनिक पहल तथा एनआरएनए साउदी अरबको केही आर्थिक, नैतिक र सामाजिक सहयोग पश्चात उनको स्वदेश फिर्ती सम्भव बनेको हो ।
गतः शुक्रबार २२ जुनका दिन एनआरएनए साउदी अरबको कल्याणकारी कोषबाट सहयोग स्वरूप काटिएको हवाई टिकट पीडित होमनाथलाई हस्तान्तरण गर्दै एनआरएनए कतिफ स्थानिय लेबर टास्क फोर्स कमिटीले आयोजना गरेको एक परिचयात्मक तथा छलफल कार्यकममा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले भन्नुभयो “होमनाथ खाडी क्षेत्रमा म्यानपावर कम्पनीहरूबाट पीडित हजारौं नेपाली श्रमिकहरूका प्रतिनिधी पात्र हुन, होमनाथहरूलाई पीडित र बिचल्ली पार्नमा स्वयम बैदेशिक रोजगार बिभागका कर्मचारी पनि दोषी छन, यसैले यो केशमा पीडितले न्याय र पूर्ण क्षतिपुर्ति पाउंछन या पाउंदैनन, दोषी म्यानपावर कम्पनी र बिभागका सम्बन्धित कर्मचारीलाई के कस्तो कानूनी कार्बाही हुन्छ या हुंदैन भन्ने कुराको उत्सुकताका साथ अनुगमन गर्ने बताउंदै बैदेशिक रोजागार बिभागलाई एनआरएनए साउदी अरबका तर्फबाट लेखिएको पत्र त्यहां उपस्थित पचासौं कामदारहरू माझ बाचन गरी सुनाउनुभएको थियो।” सोही अवसरमा पीडित होमनाथले एनआरएनए साउदी अरबले पुर्याएको निकै महत्वपुर्ण सहयोगका लागि आंफू यस संघप्रति आभारी र कृतज्ञ रहेको र नेपाल फर्केपछि आफ्ना लागि मात्र नभई अरूहरूले पनि आंफूले जस्तो दुख र बिचल्ली ब्यहोर्नुनपरोस भन्नका लागि केही पहल अवश्य गर्ने र सो का लागि आबश्यक परे प्रधानमन्त्री र अख्तियार दुरूपयोग निबारण आयोगसम्म पुग्ने बताउनुभयो ।

बैदेशिक रोजगार बिभागलाई लेखिएको पत्रः

मितिः २४ जुन २०१२                                          पत्र संख्याः NRNAKSA/2011-13/057

बैदेशिक रोजगार बिभाग
श्रम तथा यातायात ब्यवस्था मन्त्रालय
काठमाडौ, नेपाल
मार्फतः नेपाली राजदूतावास, रियाद, साउदी अरब

बिषयः होमनाथ बास्कोटालाई ठगेर बिचल्ली पार्ने म्यानपावर कम्पनी तथा बिभागका कर्मचारीलाई कानूनी कार्बाही गर्नुहुन

महानिर्देशकज्यु

मोरङ डांगीहाट-३ निवासी होमनाथ बास्कोटा करिब ३ महिना अघि साउदी अरब आएर बिचल्लीमा परेकोमा नेपाली राजदूतावास रियाद र गैर आवासीय नेपाली संघ साउदी अरबको संयुक्त पहलमा उद्धार भई मुश्किलले स्वदेश फर्किन पाएको जानकारी गराउंदछौं । उद्धारका क्रममा दूतावासले पीडक साउदी मालिक, म्यानपावर कम्पनी तथा त्यस बिभागमा समेत सम्पर्क र सम्वाद गरेको र गतः २ जुन २०१२ मा दूतावासबाट बिभागमा म्यानपावरलाई कार्बाही गर्नका लागि पत्राचार समेत गरेको जानकारी छ भने एनआरएनए साउदी अरबले पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन हर प्रयास गरेको, होमनाथको पीडालाई मिडियामार्फत अन्तराष्ट्रियकरण गरेको, आपतकालीन अवस्थामा खाना खर्चका लागि २०० साउदी रियाल र स्वदेश फिर्तीको हवाई टिकटका लागि ८१३ साउदी रियाल उपलब्ध गराएको छ । आफ्नो जिम्मेवारी र प्रतिबद्धता बिपरित अन्तिम घडिसम्म पनि पीडक कपिल म्यानपावर कम्पनीले होमनाथलाई स्वदेश फर्काउन नसकेपछि होमनाथ स्वयमले कतार र साउदीको हायल र कतिफमा रहेका उनका आफन्त र साथीभाइसंग सर सापट गरी साउदी मालिकले मागेको ४,५८० रियाल बुझाएर फिर्ती टिकटको अलग्गै ब्यवस्था गरेपछि बल्ल उनले स्वदेश फर्किन पाएका हुन । होमनाथलाई मालिकले उनले काम गरेको पुरै १ महिनाको तलब पनि दिएन ।

होमनाथलाई साउदी पठाउने क्रममा कपिल म्यानपावर कम्पनीले २ वटा (सक्कली र नक्कली) करारनामा गराएर, उनी साउदी र कतारका लाइसेन्स होल्डर हेभी ड्राइभर भएको, मेडिकल सर्टिफिकेटमा पनि ड्राइभर नै उल्लेख भएको र उनको भिषा पनि ड्राइभरकै भएता पनि सक्कली करारनामामा उनलाई लेबर भनी न्युन तलब ८०० मात्र उल्लेख गराएर, मेडिकल टेस्ट अर्कै म्यानपावर कम्पनीबाट गराएर, एउटा कम्पनी भनी अर्कैकोमा पठाएर, दैनिक १६ घण्टा बिना ओभरटाइम पेमेन्ट कामगर्नुपरेको, तलब माग्दा उल्टै साउदीको कुटाइ खानुपरेको परिस्थितीमा फसाएर, बिभागले तोकेभन्दा बढी रू. १ लाख रकम होमनाथबाट असुल गरेर र होमनाथले माग्दा पनि सो रकम बुझेको भर्पाई भने नदिएर, रोजगारका शर्त सुविधाहरूको पालना नहुंदा स्वदेश फर्काउन नसकेर बैदेशिक रोजगार ऐनको गम्भिर उलंघन गरेको छ । साथै यस प्रकरणमा एउटा कम्पनीबाट स्वास्थ परिक्षण गरेका, ड्राइभरको भिषा भएका होमनाथलाई अर्कै कम्पनीमा लेबरको श्रम स्वीकृति दिएर बैदेशिक रोजगार बिभागका कर्मचारीले पनि ऐनको उलंघन गरेको हाम्रो ठहर छ ।

यसर्थ ऐन बिपरित कार्य गर्ने कपिल म्यानपावर कम्पनी र बिभागका सम्बन्धित कर्मचारीलाईसमेत कानून बमोजिम शक्त कार्बाही गर्न माग गर्दछौं । साथै होमनाथलाई उनले नेपालमा कपिल म्यानपावर कम्पनीलाई बुझाएको रू. १ लाख, साउदी मालिकलाई बुझाएको ४,५८० रियाल, हवाई टिकट बापत ८१३ रियाल र उनले काम गरेको उनको १ महिनाको पारिश्रमिक (तलब) समेत सबै रकम उक्त म्यानपावर कम्पनीको धरौटीबाट कट्टा गरी होमनाथलाई दिलाउन पनि माग गर्दछौं ।
भवदीय

धरम के.सी.                                     पुरूषोत्तम दास श्रेष्ठ
अध्यक्ष                                              महा सचिव

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.